काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु भएको छ । आयोगको सूचना अनुसार आइतबार (आज)देखि सो प्रक्रिया सुरु भएको हो ।
आज साढे १ बजेसम्म चार वटा पार्टी आयोगमा दर्ता भइसकेका छन् । पहिलो पार्टी भने सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको हो । पार्टी उपाध्यक्ष ई. वसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो पार्टीले सप्तरीमा दुई स्थानीय तह र १८ वडा जितेको थियो । जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसिर ४ गते एक चरणमा निर्वाचन हुने निर्णय गरेको छ ।