काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गर्नुभएको छ । कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने उहाँको भनाइ थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतबार(आज) ललितपुरमा सम्बोधन गर्दै ओलीले चुनावमा गठबन्धनलाई हराउने दाबी गर्नुभएको हो ।
रेस्लिङ खेलको उदाहरण दिँदै ओलीले अगाडि भन्नुभयो, ‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’
लडाइँ जित्नको लागि तरिका र तयारी चाहिने भन्दै ओलीले आफूहरू जिततर्फ अगाडि बढ्ने बताउनुभयो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणीसमेत गर्नुभएको छ । डुब्न लागेकाहरू गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँको भनाइ छ ।
ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरूको नसिबमै गठबन्धन लेखेको छ । डुब्नेको सिन्केका सहारा भनेको जस्तै उनीहरूलाई बाँच्नका लागि गठबन्धनरूपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरू एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरू सबै डुब्छन् ।’
गठबन्धनका दलहरूमा एक अर्काप्रति अविश्वास रहेको उल्लेख गर्नुभयो । ओलीले यो गठबन्धन पार्टीको रुपमा गइसकेको उल्लेख गर्नुभयो ।