काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिस समितिका सदस्यसँग आग्रह गर्नुभएको छ ।
बुधबार(आज) सिफारिस समितिका सदस्यहरूसँगको भेटमा सापकोटाले महाअभियोगको काम अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले महाअभियोगको सिफारिस समितिको सहजीकरण बैठक राख्नुभएको हो । सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए ।
संघीय संसद् सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति थियो । महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।
चोलेन्द्रविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तापक्षका ९८ सांसदले गत फागुन १ गते संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
प्रस्ताव देव गुरुङले फागुन २९ गतेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेपछि सिफारिस समिति गठन गरिएको थियो । ११ सदस्यीय महाअभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह हुनुहुन्छ ।
साउन २२ गतेको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल गरेर महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको छ । सिफारिस समितिमा पुगेको ३ महिनामा महाअभियोगको टुंगो लगाउनुपर्नेछ । चुनावको मिति घोषणा भइसकेकाले सिफारिस समितिले पाएको ३ महिनाको समय अगावै प्रतिनिधि सभाको कार्यकाल सकिने सम्भावना छ ।