काठमाडौं । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त शपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसद्ले सो ऐन बनाएको हो । सो ऐन कार्यान्वयनमा आएपछि अब शपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा शपथ खान सक्ने विकल्प राखिएको छ । यसअघि खाने शपथमा ईश्वरको नाममा मात्र शपथ लिने व्यवस्था थियो । ईश्वरको नाममा भन्न नचाहनेहरूले देश र जनताको नाममा भनेर शपथ खाने गर्दथे ।
साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग शपथ लिने बेला शपथमा रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्द उच्चारण नगरी त्यो पर्दैन भन्नुभएको थियो । शपथ लिने बेला ओलीको सो व्यवहारको व्यापक आलोचना भएको थियो । संघीय संसदबाट पारित भएको विधेयकको अनुसूचीमा राखिएको पद तथा गोपनीयताको ढाँचामा पनि प्रतिज्ञा गर्दै भन्ने शब्द राखिएको छ । सोही ढाँचा अनुसार शपथ खानुपर्ने विधेयकमा व्यवस्था रहेको छ ।