काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकोप्रति असन्तुष्टि जनाउनुभएको छ।
५ दिने जापान भ्रमण सकाएर स्वदेश फर्कने क्रममा बुधबार(आज) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिप्रति असन्तुष्टि जनाउनुभएको हो।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने छ, तर प्रमाणीकरणको लागि ढिला गर्नु हुँदैनथ्यो, ढिला गर्नुभयो।’
संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक प्राप्त भएको १५ दिनभित्र कि प्रमाणीकरण गर्ने कि पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउने व्यवस्था छ।
नागरिकता संशोधन विधेयकलाई संघीय संसद्का दुवै सदनबाट पारित गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा लग्नुभएको थियो । तर १० दिन बितिसक्दा समेत प्रमाणीकरण भएको छैन।
राष्ट्रपति भण्डारीले भने नागरिकता विधेयकबारे विचार गरिरहेको बताइएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्न र प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिकहाँ विभिन्न व्यक्ति र समूहले भेट गरिरहेको अवस्थामा सत्तारुढ दलका प्रमुख नेताको यस्तो प्रतिक्रिया आएको हो ।