काठमाडौं । नेपालमा थप सात जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत तीन जनाको बिहीबार साँझ र आज बिहान भएको हो ।
झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको आज मृत्यु भएको हो भने सिरहाका एकजना पुरुषको बिहीबार साँझ मृत्यु भएकोे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।
आज बिहान मृत्यु भएका ८३ वर्षीय पुरुष बिएन्डसी टिचिङ अस्पताल, विर्तामोड झापाबाट रिफर भएर धरान गएका थिए । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, आजै मृत्यु भएकी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् । उनमा पनि ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, सिरहा नगरपालिकाका –२ का ५५ वर्षीय पुरुषको पनि बिहअीबार साँझ सोही अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुने पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहको दीर्घरोगी भएको सापकोटाले जानकारी दिनुभएको छ ।
साथै, चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान जिल्लाको पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेज, भरतपुरमा एक–एक गरी दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दीप पाण्डेका अनुसार भेन्टिलेटरमा उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको हो । उनी लामो समयदेखि दमको बिरामी रहेको अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएकी महिलामा पनि श्वासप्रश्वासमा गम्भीर समस्या आएर अस्पताल भर्नागरी उपचार सुरु गरिएको थियो ।
यसैबीच, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते भर्ना भएका तिलोत्तमा–८ का ६० वर्षीय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनु भएको छ ।
अहिले कोरोना विशेष अस्पतालको आइसियुमा १५ बिरामी उपचाररत छन् भने दुई जना भेन्टिलेटरमा छन् ।
यसका साथै, मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।