काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर उठानका लागि एउटा शक्तिशाली समिति गठन गर्न सभामुखमार्फत सरकारसँग माग गर्नुभएको छ ।
आइतबार(आज) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौंलाई अस्तव्यस्त र ध्वस्तबाट बचाउनका लागि शक्तिशाली समिति गठन गर्न माग गर्नुभएको हो । मानन्धरले काठमाडौंलाई व्यवस्थित गर्नका लागि आफ्नै नेतृत्वमा भए पनि समिति गठन गर्न माग गर्नुभयो ।
उहाँले ६० दिनअघि काठमाडौंको फोहोरको बारेमा संसद्मा प्रस्ताव पेस गरेको बताउँदै ७१ दिनसम्म पनि फोहोर मैला नउठेको बताउनुभयो ।
सांसद मानन्धरले इच्छाशक्ति भएपछि मात्रै नेपालको फोहोर उठ्न सक्ने दाबी गर्नुभयो । उहाँले संसद् भवनको वरिपरि हेर्ने हो भने पानी चुहिएर बस्न नसक्ने अवस्था रहेको गुनासो गर्नुभयो ।