काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार हुनुभएको छ ।
२०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्न सहमत हुनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि भट्टराई हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार हुनुभएको हो । प्रचण्ड र बाबुरामबीच लामो छलफल गर्दै गएपछि एउटै चुनाव चिन्हबाट निर्वाचन लड्न तयार भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताउनुभयो ।
प्रचण्डले बाबुरामलाई माओवादीमै आएर चुनाव लड्ने आग्रह गर्नुभएको थियो । बाबुरामले समाजवादी केन्द्र बनाएर एउटै पार्टी र चुनाव चिन्हमा जान सकिने अडान लिएका थिए । अन्ततः बाबुराम माओवादी आउन नसक्ने भएपछि हँसिया हथौडा चुनाव चिन्ह मात्रै लिएर निर्वाचन लड्न तयार हुनुभएको हो। बाबुराम हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा गएपछि उहाँले समेत आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्नुभएको आंकलन गरिन थालिएको छ ।
माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समेत दाबी गरेकाले बाबुराम हँसिया हथौडा चुनाव चिन्ह नै लिएर निर्वाचन लड्ने भएपछि उहाँलाई सजिलो हुने भएको छ । यस्तै अध्यक्ष यादवसहित नेता गंगानारायण, हिसिला यमी, मानुषी यमी भट्टराई लगायत नेतालाई समेत चुनाव चिन्हले सहज बनाउने देखिएको छ ।