काठमाडौं । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका छन् ।
सत्ता पक्षका सांसदले नागरिकता विधेयकमा राष्ट्रपतिले फिर्ता पठाएर लाखौं नागरिकलाई नागरिकता विहिन बनाएको बताएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रपतिले विवेक पुर्याएर फिर्ता पठाएकाले त्यसलाई सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए ।
एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहालले नागरिकतामा गम्भीर त्रुटी भएपछि फिर्ता पठाएको र यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । उनीहरुले संसदीय प्रक्रिया र विधिपुर्वक सहमतिका आधारमा त्रुटी सच्चाउनुपर्ने भन्दै सत्तापक्षलाई वलजफ्ती नगर्न आग्रह गरे । त्यस्तै खेमप्रसाद लोहनीले नागरिकताजस्तो विषयलाई विवाहको गिफ्ट दिएजस्तो दिनु नहुने बताउनुभयो । त्यसैगरी माओवादीकी इन्दुकुमारी शर्माले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारी दलीय मान्यताभन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले नागरिकतामा सधै राजनीति गरिने गरेको पनि बताउनुभयो । उहाँले यही विधेयक ओलीले ल्याउँदा एमालेका सांसद दश हात माथि उफ्रेको धेरै नभएको भन्दै प्रतिपक्ष सांसदहरुको आलोचना गर्नुभयो। त्यस्तै सांसद गजेन्द्र महतले राष्ट्रपति कार्यालयले राती पठाएको विषय मात्रै प्रमाणीकरण गर्ने गरेको भन्दै राष्ट्रपतिको व्यङ्ग्य गर्नुभयो ।