काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । आज साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
कार्यदलमा भएको छलफलको निष्कर्षबारे शीर्ष नेताहरूले समेत सुझाव राखेका छन् । छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँडको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका छन् ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएपछि नेताहरूले त्यसलाई अन्तिम रूप दिन निर्देशन गरेको बताउनुभयो ।
उहाँले अब कार्यदलले चाँडोभन्दा चाँडो सिट बाँडफाँडको काम पूरा हुने गरी छलफललाई अघि बढाउने बताउनुभयो । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ ।
कार्यदलले २०७४ को निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचनको मत परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ ।