काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा नाफा घाटाको हिसाब गर्न थालेपछि उपभोक्ता नियमितजस्तो मारमा परेका छन् । सरकारको प्रत्यक्ष निगरानीमा रहेको सार्वजनिक संस्थानले दिनहुँ नाफा घाटाकै हिसाब गरिरहेको छ, तर जनताको ढाड सेकिएको तर्फ सचेत छैन ।
जनतालाई महंगीको मारबाट उन्मुक्ति गराउने, दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समायोजन गर्ने, जीवनयापन सहज बनाउने पार्टीका चुनावी घोषणा र सरकारको बाचा एकादेशको कथा जस्तै बन्दै गएको छ । बजार महंगिने, मूल्य आकाशिने प्रमुख कारण इन्धनले हो, यसको मूल्यमा समायोजन नहुँदा दैनिक जीवनमा निकै सकस परिरहेको हुन्छ ।
भर्खरै तीन पटक भारतले इन्धनको मूल्य घटाइसकेको छ, सोही मूल्यसूची नेपालमा नपुगेको होइन, तर यहाँ घाटाको कारण देखाउँदै मूल्य स्थिर छ । नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढिरहेका बताउँदा भारत भने त्यहाँबाट फाइदा लिइरहेको छ ।
आयल निगममाथि पटक–पटक बेइमानी गरिरहेको आरोप लागिरहँदा उपाध्यायले त्यसको खण्डन गर्नुभएको छ ।
भारतबाट मूल्य घटेर प्राप्त भएपनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत् राख्ने बताइरहेको छ । यता, राष्ट्रिय उपभोक्ता मञ्चले आयल निगमले मनपरी गरिरहेको आरोप लगाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संसदीय समितिमा आयल निगमविरुद्ध निवेदन दिएको जानकारी दिँदै कार्यान्वयनमा आउनेमा विश्वस्त रहेको बताउनुभयो ।
अध्यक्ष महर्जनले आयल निगमलाई डुबाउने खेल भइरहेको तर्फ इंगित गर्दै निजी क्षेत्रमा दिनै नहुने तर्क गर्नुभयो ।
नागरिकलाई गाँस, बास र कपासको ग्यारेण्टी गर्नु राज्यको दायित्व हो तर यहाँ रकम तिरेर पनि सामाग्री नपाइने पाइहाले मूल्य अचाक्ली हुने समस्याले जनता आजित बनेका छन् । नागरिकको दैनिकी सहज बनाउन तर्फ सरकार लाग्नुपर्ने आजको आवश्यकता पनि हो ।