काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ । शनिबार(आज) सुनसरीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आएपनि पुनः पठाउने बताउनुभयो । उहाँले यस पटक भने नागरिक विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । मन्त्री कार्कीले यो टकराबको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताउनुभयो ।
मन्त्री कार्कीले चाँडै नै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताउनुभयो ।