काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ७५ वर्षीय गिरिको गएराति साढे ९ बजे निधन भएको थियो । समाजवादी चिन्तकका रूपमा परिचित गिरि चार दशकभन्दा लामो समयदेखि राजनीतिमा संलग्न हुनुहुन्थ्यो । मित्रलाल र पुण्यप्रभाको कोखबाट जन्मिनुभएका प्रदीप गिरिका एक छोरा र श्रीमती हुनुहुन्छ । गिरि सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँको अध्ययन, अनुसन्धान तथा लेखनमा रुचि थियो । गिरिले राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेल जीवन समेत बिताउनुभयो ।
उहाँमा दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता थियो । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरिको हरेक राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता थियो । उहाँका लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित रहेका छन् ।
२०१७ सालको घटनाक्रमपछि राजनीतिमा सक्रिय गिरि २०२४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित हुनुभएको थियो । ०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित गिरि संविधानसभा सदस्य निर्वाचन, ०६४ मा कांग्रेसबाट समानुपातिक सभासद् हुनुभएको थियो ।
दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा पनि कांग्रेसबाट समानुपातिक सभासद् चयन भएका गिरि संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ मा भने सिराहा १ बाट निर्वाचित बन्नुभएको थियो । प्रदीप गिरिले संसदमा बोलेको अन्तिम मन्तव्यमा नेपाल कुनैपनि मुलुकभन्दा सानो नभएको जिकिर गर्नुभएको थियो । देशप्रतिको उहाँको सद्भावलाई यसै भनाइले प्रतिबिम्बित गर्छ ।
गिरि शालीन, शिष्ट, ज्ञानको भण्डार भएका नेता हुन् । उहाँको देहावसानले कांग्रेसले अपूरणीय क्षति व्यहोरेको जनाएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधनले स्तब्ध भएको बताउनुभएको छ । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ । .नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिको निधनप्रति श्रद्धाञ्जली दिँदै मुलुकमा गिरिको अभाव सधैँ खड्किरहने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता प्रदीप गिरिबाट निःस्वार्थ राजनीतिको प्रेरणा लिनुपर्ने बताउनुभएको छ । गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले गिरीको प्रेरणाबाट समाजवादको शिक्षा लिनुपर्ने बताउनुभयो ।
उच्च विचारका धनी प्रदीप गिरि कार्ल मार्क्स, बीपी कोइराला, गान्धीका अध्येयता रहेको पूर्व राष्ट्रपति रामवरण यादवको भनाइ छ ।
अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदीप गिरिसँगको अनुभव बताउनुभएको छ । पाण्डेले सँगै जेल बसेर धेरै कुरा अनुसरण गरिएको सम्झिनुभयो । नेपालको राष्ट्रियताको सम्वद्र्धनमा गिरिको अतुलनीय योगदान रहेको गृहमन्त्री खाँणको भनाइ छ । अर्थमन्त्री जनार्दन शर्माले गिरिलाई यसरी सम्झिनुभयो ।
सरल, नैतिकवान्, उच्च विचारका धनी सबैका प्रेरक नेता गिरिको भौतिक शरीरलाई आज बिदाइ गरिएको छ । उहाँको आदर्श, निष्ठा र सरल जीवनशैली नेपाली राजनीतिका लागि सधैँ प्रेरणा बनिरहने छ ।