काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताउनुभएको छ ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताउनुभएको हो ।
पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उहाँको भनाइ छ । उहाँले माओवादी केन्द्रसँग चुनाव अघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।
त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले र फेरी पनि वामशक्तिहरू एक ठाउँमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको बताउनुभयो। उहाँले अहिले चुनावी तालमेल गर्ने दलहरुबीच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जाने बताउनुभयो।
नेपालले साझा कार्यक्रममा गठबन्धनले जनताका लागि गर्ने कामहरूको प्रतिबद्धता हुने जानकारी दिनुभयो।