काठमाडौं । जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन हुनुभएको छ । जनकपुर र काठमाडौंमा गरी दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो ।
यसअघि सो भेलाले संघको नेतृत्वमा जसपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य योगेन्द्रराय यादवलाई जिम्मेवारी दिएका थियो ।
तर संगठनमा उमेर हद तोकिएपछि उहाँले सो पद छाड्नुभएको हो। भेलाले समाजवादी युवा संघ, नेपालका अध्यक्ष पदका लागि अधिकतम ४० वर्षसम्मको उमेर हद तोकेको छ । संघको बैठकले सो निर्णय पारित गरेकाले आफूले सो पद छाडेर राईलाई हस्तान्तरण गरेको यादवले बताउनुभयो । राई यसअघि संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
संघको सातवटै प्रदेश र क्षेत्र समेटेर २५ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार यादव, नीरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुसवाह चयन हुनुभएको छ।
त्यस्तै, दिलीप पटेल महासचिवमा चुनिएका छन् भने उप–महासचिवमा आतिशकुमार सिंह यादव, रेणु सिंह, रञ्जित गोस्वामी, अशोक मण्डल र सरोज यादव चयन हुनुभएको छ । संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन हुनुभएको छ ।