काठमाडौं । घरेलु टोली केन्याले तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १÷१ विकेट लिए ।
आज नेपाल घरेलु टोलीविरुद्ध दोस्रो जितको खोजीमा रहेको छ । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा रहेको छ । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।
नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौँ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ ।