काठमाडौं । संसदीय समितिमा बयानका लागि उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गर्नुभएको छ ।
संसद्को महाभियोग सिफारिस समितिसमक्ष बुधबार(आज) बयानका लागि उपस्थित भएका राणाले आफू न्यायका लागि उपस्थित भएको र समितिले आफूलाई न्याय दिने विश्वास रहेको बताउनुभयो ।
बजेट अधिवेशन अगाडि संघीय संसद्को अधिवेशन समाप्त हुँदा नै आफू विरुद्धको महाभियोगको औचित्य समाप्त भइसकेको राणाले जिकिर गर्नुभयो । आफूपछिको रोलक्रममा रहेका दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि महाभियोग ल्याइएको र अहिले पनि त्यही उद्देश्यले कायम राखिएको राणाले दाबी गर्नुभयो ।
अहिले संसद्बाट आफूमाथि अन्याय भएको बताउँदै राणाले आफू न्याय माग्नका लागि समितिमा उपस्थित भएको समेत दाबी गर्नुभयो ।
संसद्ले संविधान र संसद्को नियमावली विपरीत काम गरेर आफूविरुद्ध महाभियोग कायम राखेको चोलेन्द्रले आरोप समेत लगाउनुभएको छ ।
आफूलाई सर्वोच्चमै हुँदा कार्कीलाई प्रधानन्यायाधीश बनाउन प्रस्ताव आएको, तर आफूले अस्वीकार गरेको उहाँको भनाइ छ । उहाँले आफू विधि र प्रक्रिया पूरा गरेर आएकाले सोही विधिअनुसार बाहिर जान तयार रहेको कुरा भन्दै आएको बताउनुभयो । तत्कालीन समयमा सहकर्मी न्यायाधीशहरूले प्रश्न उठाएर राजीनामा दिन सुझाव दिँदा पनि राणाले यही विषयलाई दोहोर्याउनुभएको थियो ।
राणाले समितिमा लिखित रुपमा आफ्नो कुरा राख्नुभएको छ । राणाले आफ्ना कुरा राखेपछि सांसदहरूले प्रश्न सोध्न थालेका छन् । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । गत फागुन १ गते सत्तारुढ दलका सांसदहरूले महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बन हुनुभएको थियो ।