Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डेंगुको संक्रमण बढ्दो, स्वास्थ्य मन्त्रालय भन्छ– स्वास्थ्यकर्मीको सम्पर्कमा जान ढिला नगरौं (खास खबर)

डेंगुको संक्रमण बढ्दो, स्वास्थ्य मन्त्रालय भन्छ– स्वास्थ्यकर्मीको सम्पर्कमा जान ढिला नगरौं (खास खबर)

  • शनिवार, भाद्र १८ २०७९

  • 922
    SHARES

  • डेंगुको संक्रमण बढ्दो, स्वास्थ्य मन्त्रालय भन्छ– स्वास्थ्यकर्मीको सम्पर्कमा जान ढिला नगरौं (खास खबर)
    काठमाडौं । देशभर डेंगु संक्रमण बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यका सहित ७२ बढी जिल्लाका विभिन्न स्थानमा यसका संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
     
    अहिले सम्म ४ हजार जनाको हाराहारीमा संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ । 
     
    उहाँका अनुसार काठमाडौं उपत्यका, चितवन र रुपन्देही सबैभन्दा बढी संक्रमित भएका जिल्लामा पर्छन् । 
     
    डेंगु भए नभएको संक्रमण पत्ता लगाउन र गाह्रो भएर अस्पताल भर्ना हुनेको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । 
     
    संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने; टाउको, पेट र जीउ दुख्ने; खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने; एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिएका छन् ।
     
    डा. अधिकारीले डेंगु शंका भएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा जान ढिला गर्न नहुनेमा  सुझाव दिनुभएको छ ।
     
    चिकित्सकहरूका अनुसार डेंगुको लक्षणमा रिँगटा लाग्ने; श्वासप्रश्वासमा समस्या आउने, रक्तस्राव हुने, बेहोस हुनेजस्ता कडा समस्या पनि देखिन सक्छन् ।
     
    संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन रक्तस्राव भए भर्ना गरेर उपचार गर्नुपर्ने भएकाले लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्न नहुने बताउनुहुन्छ ।
     
    विश्व स्वास्थ्य संगठनका अनुसार छिटो डेंगु रोग पत्ता लगाई उचित चिकित्सकीय हेरचाह पुर्‍याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ । 
     
    डा. पुन डेंंगु संक्रमितमा शारीरिक पिडा अत्यधिक हुन्छ तर भयो भनेर सिटामोल बाहेक कडा खालका पेनकिलर भुलेर पनि खान नहुनेमा सुझाव दिनुहुन्छ ।
     
    डेंगु नियन्त्रणका लागि संसदमा पनि आवाज उठिरहेको छ । राष्ट्रिय सभामा सांसद सुरेश आले मगर र प्रतिनिधिसभामा सांसद मिना सुब्बाले सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
     
    संक्रमण बढ्दै गएको अवस्थामा उपचार व्यवस्थामा सहजीकरण भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
     
    मन्त्रालयका सह प्रवक्ता अधिकारी संक्रमण बढ्दै गएकाले लामखुट्टे नष्ट गर्ने, सरसफाइ, किट र अस्पतालमा व्यवस्थापन लगायतमा सरकार लागिरहेको बताउनहुन्छ । 
     
    डेंगु भाइरस एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । सन् २०१० मा डेंगुकै कारण नेपालमा पाँच जनाको निधन भएको थियो ।
     
    सन् २०१९ मा पनि करिब १८ हजार संक्रमित भएका थिए भने कम्तीमा ६ जनाको ज्यान गएको थियो । यस पालि पनि पर्याप्त सतर्कता नअपनाइए यसले देशभर महामारीकै स्वरूप लिन सक्ने भएकाले अहिले फैलिरहेको संक्रमणलाई सरकार र नागरिक दुवैले चिन्ताका रूपमा लिनुपर्छ । यसका लागि हामी सचेत भएर उच्च सावधानी अपनाउनुपर्दछ ।


    शनिवार, भाद्र १८ २०७९०८:२३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij