काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेको पाँचदिने नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल–भारतका सेनाबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप प्रोत्साहन गर्न र गोर्खा भर्तीका बारेमा हाल देखिएको अन्योलबारे थप स्पष्ट हुने अवसर जुरेको छ । नेपाली सेनाको मानार्थ महारथी दज्र्यानी लिन आउनुभएका सेनाध्यक्ष पाण्डेको भ्रमणले ऐतिहासिक सम्बन्धलाई बलियो त बनाएको छ नै यसले थप नयाँ आयाम दिएको छ ।
भारत सरकारले लागू गरेको अग्निपथ योजनाप्रति आफ्ना केही सरोकार राख्दै नेपालले करिब डेढ साता अघिका लागि तय भएको गोर्खा सैनिकको भर्ती स्थगित गरेको थियो । नेपाललाई जानकारी नगराई गोर्खा भर्तीबारे नयाँदिल्लीले निर्णय लिनु गलत भएको एक अवकाशप्राप्त उच्च भारतीय सैनिक अधिकारीले बताएका थिए । नेपालका दुई प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रहिसक्नुभएका पूर्वकूटनीतिज्ञ, राजदूत दिनेश भट्टराई भारतीय सेनाध्यक्षको भ्रमणका समयमा नेपालले आफ्नो तर्फबाट स्पष्टता खोज्नुपर्ने बताउनुहुन्छ ।
नेपाली सेनाले भने यो विशुद्ध मानार्थ महारथी दज्र्यानी लिने भ्रमण रहेको स्पष्ट पारेको छ । सेनाका प्रवक्ता एवम् सहायक उपरथी नारायण सिलवालले नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई बलियो र ताजकी राख्न नै यो भ्रमण भएको बताउनुभयो ।
नेपालका युवाहरु भारतको लडाईमा पठाउनु देशको महानता भएको बताउँदै पूर्व उपरथी डा. पूर्ण सिलवालले विश्वका कुनैपनि मुलुकले यसरी लडाइमा नपठाएको स्मरण गर्नुभयो । मानार्थ महारथी सम्मान दिँदा दुई देशका सेनाबीचको प्रगाढता नै पहिलो उद्देश्य रहेको उहाँको भनाइ छ ।
नेपालमा भारतको सुरक्षा चाँसो रहेको उल्लेख गर्दै डा. सिलवालले खुला सिमाना र १९५० को सन्धीले पनि अरु देशभन्दा सम्बन्ध पृथक रहेको बताउनुभयो ।।
नेपालमा गोर्खा भर्तीको विषय विवादमा तानिएसँगै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले अग्निपथ योजनाअनुसार नै गोर्खा भर्ती अघि बढ्ने बताएका थिए । अग्निपथबारे नेपालको चासो आफूले भारतको रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयमा राखेको नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले जानकारी गराउनुभएको छ । पाण्डेको पाँच दिने लामो भ्रमणमा नेपालका तर्फबाट गोर्खा भर्तीबारे स्पष्ट धारणा माग गर्नु आवश्यक छ । साथै, आजै सेनाध्यक्ष पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीकोे हातबाट मानार्थ महारथी दज्र्यानी लिनुभएको छ ।