काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ ।
पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबार (आज)बाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा नेपालले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्ने गरेको बताउनुभएको हो ।
"अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौं। त्यसमा नौ लाख जनताको समर्थन पनि हासिल गर्यौं। अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौं। यो तालमेल गर्दै अघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँट गर्न चाहिरहेका छौं। त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ। हामीले सम्भव तुल्याउन चाहिरहेका छौं" उहाँले भन्नुभयो।
नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरि संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।