काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
प्रधानमन्त्री देउवाले चुनावको तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको सह महामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ । कांग्रेसको विधानबमोजिम क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाइसकेका छन् ।
विधानबमोजिम कांग्रेसमा केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । तर, अहिले संसदीय समिति भने अपूरो छ । सभापति देउवाले समितिमा छलफल गर्नुअघि पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूलाई बोलाएर त्यसबारे छलफल गर्न लागेका हुन् ।
२५ सदस्यीय हुने संसदीय समितिमा भने अहिले सभापतिसहित १३ पदाधिकारी र नेता रामचन्द्र पौडेल मात्रै मनोनीत छन् । कांग्रेसमा उम्मेदवार चयनमा केन्द्रीय संसदीय समितिको निर्णय नै अन्तिम हुने व्यवस्था छ । समितिको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनुहुने छ ।