काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको हकमा तत्काल आन्तरिक उडान खोल्न त्यति सहज नभएको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसंग कुरा गर्दै महानिर्देशक पोखरेलले विभिन्न जिल्ला, नगरमा निषेधाज्ञा जारी भएकाले आन्तरिक उडान खोल्न समस्या भएको बताउनु भएको हो ।
सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रियतर्फ नियमित व्यवसायिक उडान सुचारु गरेकोले अहिले स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण परिपालना गर्दै अन्तर्राष्ट्रिय उडानमात्र हुने उहाँले बताउनु भयो ।
हवाई उडान सुचारु गर्ने विषयमा आफुहरु पहिलेदेखि नै तयारी अवस्थामा नै रहको र बीचमा पनि उद्धार तथा चार्टर उडान भएकोले सोही अनुसार नै अहिलेको हवाई ट्राफिक व्यवस्थापन गरिने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।
अहिले दिनमा ८ सय यात्रु मात्रै ल्याउने गरी उडान तालिका स्वीकृत गरेको बताउँदै उहाँले अहिलेको नियमित उडानमा जुन देशमा पिसिआर परीक्षण सहज छ, त्यहाँबाट मात्र यात्रु ल्याउन पाउने र ती देशबाट नेपाल आउँदा आधिकारिक संस्थाबाट ७२ घन्टा ननाघेको पिसिआर नेगेटिभ भएको रिपोर्ट चाहिने र नेपाल आएपछि सरकारले लागू गरेका सर्तमा रहेर बस्नु पर्ने जानकारी दिनुभयो ।
महानिर्देशक पोखरेलसंग गरिएको थप कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।