काठमाडौं । नेपालमा कोरोना भाइरस समुदायस्तरमै फैलिइसकेको कतिपय बिज्ञले बताइरहेका छन् । तर, सरकारी तबरबाट भने यसबारे आधिकारिक धारणा आउन बाँकी नै छ ।
यसैबीच, सरकारले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ ।
कोरोनाको संक्रमण सबै समुहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो–होइन भन्ने अध्ययन गर्न थालेको हो ।
नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।
गत चैतमा विदेशबाट फर्किएका कैलाली घर भएका एक व्यक्तिबाट घरकै अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हो ।
महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिनुभयो ।
यसअघि, गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमण दर बढिरहेको छ ।
मन्त्रालयका अनुसार सातवटै प्रदेशका सङ्क्रमण बढी फैलिएका ठाउँमा गएर ६ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ ।
‘महिला, पुरुष, बालबालिका र वृद्ध–वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ । एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा कोरोना फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ’, डा। पाण्डेले भन्नुभयो, ‘सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।’
महाशाखाका निर्देशक डा. पाण्डेले अबको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताउनुभयो ।