काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नम्बर– १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।आइतबार(आज) रौतहट पुगेर नेता नेपालले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँ मनोनयन दर्ता गर्न जुलुस, झन्डा केही पनि नलिईकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुग्नुभएको थियो ।
यसअघि काठमाडौं– २ बाट जितेका नेपाल आसन्न निर्वाचनका लागि रौतहट फर्किनुभएको हो । संविधान निर्माणअघि नेपालले काठमाडौं र रौतहट दुवैतिरबाट प्रतिस्पर्धा गर्ने गर्नुभएको थियो ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि माधव नेपाल काठमाडौं २ मा बस्नुभएको थियो । यसपटक काठमाडौं २ मा असुरक्षित महसुस गरेर नेपालले रौतहटबाट उम्मेदवारी दिनुभएको हो।
स्थानीय तह निर्वाचनको नतिजा अनुसार रौतहट १ मा एकीकृत समाजवादी सबैभन्दा बलियो छ । कांग्रेस, माओवादी र लोसपाको समेत साथ पाउँदा नेपाललाई चुनाव जित्न सहज हुनेछ ।