काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम गरिरहेको छ । आयोगका अनुसार हालसम्म ४४ लाखभन्दा बढी मतपत्र छपाइको काम सकिएको छ ।
आयोगले आइतबारसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकिएको जानकारी दिएको छ । छपाई भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेको आयोगले जानकारी दिएको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र भने यसअघि नै छपाइ सकेर जिल्लाहरूमा ढुवानीका काम गरिरहेको जानकारी दिएको छ ।
समानुपातिकतर्फको मतपत्र आइतबारसम्म २८ जिल्लामा पुगिसकेको जानकारी दिएको छ । आइतबारसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ वटा जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जानकारी दिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधिसभातर्फ २ करोड चार लाख मतपत्र छापिएको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगले मतपत्र जनक शिक्षा सामाग्री केन्द्रमा छपाइ गरिरहेको छ ।