काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सोमबार(आज) सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहानै विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताउनुभयो । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट हिजो नै सार्वजनिक गरिने भनिएको थियो ।
हिजो साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो। आज बिहान १०ः३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ।
गठबन्धनको प्रदेशव्यापी चुनावी अभियानका क्रममा हिजो धनगढी र सुर्खेतको कार्यक्रममा व्यस्त भएपछि घोषणापत्र सार्वजनिक कार्यक्रम आजलाई सारिएको थियो । कांग्रेसले अब ११ गते मात्र सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम गर्ने बुझिएको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसले घोषणापत्र तयार पारेको छ ।