काठमाडौं । मुलुकका शीर्ष दलहरु र स्वतन्त्र उम्मेदवार यतिबेला चुनावी मैदानमा रहेका छन् । उनीहरु आफ्नो पक्षमा माहोल बनाउनका निम्ति सक्रिय देखिन्छन् । विगतका निर्वाचनजस्तै उनीहरुका मन्तव्य र बोली निकै महत्वकांक्षी देखिन्छन् । हालसम्म घोषणापत्र सार्वजनिक गर्न नसकेका शीर्ष दलहरुले जनतालाई सपना बाड्ने गरी आफ्ना प्रतिवद्धता गर्ने पक्का जस्तै छ । यतिबेला विभिन्न स्थानमा तालमेल गरेर निर्वाचनमा होमिएका दलहरुले एकले अर्कोलाई कटाक्ष र आरोपप्रत्यारोप गर्ने क्रम बढेको छ । विशेष गरी मुलुकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि सत्तागठबन्धन दल खनिएको छ भने अन्य नयाँ दलहरु पुराना दलहरुमाथि खनिएका छन् । अहिले भइरहेका हरेक चुनावी सभामा एकले अर्कोलाई आक्षेप लगाइरहेका छन् । सत्तागठबन्धन दलका नेता रामचन्द्र पौडेलले अमुख राष्ट्रवादको मुकुण्डो भिरेर मुलुकलाई संकट तर्फ धकेल्न खोजिएको आरोप लगाउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली तानाशाही प्रवृत्तिको रहेको र हिटलरको छनक दिने बताउँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले सामान्य बहुमत ल्याउँदा आफूहरुले भाग्नुपर्ने स्थिति सिर्जना हुने बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीको खोल ओढेर प्रतिक्रान्तीको अभ्यास गर्न चाहाने ओली प्रवृत्तिविरुद्ध परसम्म लड्नुपर्ने बताउनुभयो । राष्ट्रवादको मुकुण्डो भिरेर जनतालाई झुक्याइएको प्रचण्डको आरोप छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई राती २ बजे उठाएर संसद भंग गरेको बताउँदै लामो समय सरकारमा रहेको भए ओलीले थप संकट निम्त्याउनसक्ने दाबी गर्नुभयो ।
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन दलहरुको आरोपलाई चिर्दै गएका छन् । एकले अर्कोलाई कटाक्ष गर्ने क्रममा ओलीले गठबन्धनदलहरुले निकै झुटा आश्वासन बाँडिरहेको आरोप लगाउनुभयो ।
दलहरुलाई पटकपटक बहुमत नजिक पु¥याएका जनताहरु भने उनीहरुका क्रियाकलापप्रति आजित बनेका छन् । जसरी पनि सत्तामा पुग्नुपर्ने पछिल्लो दृष्टान्तले त झन दलहरुमाथिको विश्वास हराउँदै गएको छ।