काठमाडौं । देशका विभिन्न अस्पतालहरुमा पछिल्लो २४ घण्टा नबित्तै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा थप दुईजना, विराटनगर, धरान, वीरगञ्ज र धुलिखेलमा एक–एक जनाको मृत्यु भएको हो ।
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र अर्का एक पुरुषको मृत्यु भएको हो । गत भदौ १५ गते खोकी लाग्ने र ज्वरो आउने भएपछि जाँचका लागि अस्पताल पुगेका बुटवल ११ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
त्यस्तै, आज बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल पु¥याएर जाँच्दा पोजिटिभ आएको डा. थापाले बताउनुभयो । गएरातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको हो ।
त्यसैगरी, विराटनगर महानगरपालिका घर भएका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रबार साँझ कोशी अस्पतालमा मृत्यु भएकी महिलाको आज बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो करिब ३ बजे अस्पताल भर्ना गरिएकी विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलाको साँझ मृत्यु भएको हो ।
यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला रहेकी छिन् । उनको शुक्रबार साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा विगत १५ दिनदेखि उपचार गराइरहेका एक कोरोना संक्रमित वृद्धको पनि गएराति मृत्यु भएको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साको पकाहा मैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
यता, कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो ।