काठमाडौं । बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलासिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।
डायलासिस गराउनुअघि कोरोना संक्रमण भए–नभएको यकिन गरिने भएकाले उपचारमा सहज होस् भनेर उपमहानगरले नै निःशुल्क परीक्षण सुरु गरेको हो ।
बुटवलमा स्थायी बसोबास गर्ने, उपचारका लागि अस्पताल पुगेका वा बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाका सबै बिरामीको पिसिआर परीक्षण निःशुल्क गर्न थालिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
स्वाब संकलन गरिने ठाउँसम्म पुग्न नसक्ने अवस्थाका बिरामीलाई बसेको स्थानमै पुगेर परीक्षण गर्ने गरी काम सुरु भएको उपमहानगरले जनाएको छ । निःशुल्क पिसिआर परीक्षणका लागि अस्पतालहरुमा डायलासिस गराइरहेको कागजात वा डेरा गरेर बसेको वडा कार्यालयको सिफारिस देखाउनुपर्ने छ ।