काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर मंगलवार(आज) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तोसिमाले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमवार रिट दायर गर्नुभएको थियो ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । हिजो समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उहाँले रिट दर्ता गर्नुभएको हो ।
प्रारम्भिक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको छ । तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताउँदै आउनुभएको छ ।