Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न पाइने

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न पाइने

  • मंगलवार, कार्तिक १५ २०७९

  • 461
    SHARES

  • कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न पाइने
    काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले स्पष्ट पारेको हो ।
     
    आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म)मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     
    आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
     
    आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० ओटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेको सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ ।
     


    मंगलवार, कार्तिक १५ २०७९०८:४७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij