काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । उनीहरुमध्ये २८० जनाको मृत्यु भएको छ भने २७ हजार १२७ कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र एक हजार ५६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।