Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

झुक्याएर मतदान गरे गम्भीर कसुरमा कारबाही हुने आयोगको चेतावनी

झुक्याएर मतदान गरे गम्भीर कसुरमा कारबाही हुने आयोगको चेतावनी

  • बिहिवार, कार्तिक २४ २०७९

  • 496
    SHARES

  • झुक्याएर मतदान गरे गम्भीर कसुरमा कारबाही हुने आयोगको चेतावनी

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताका वारेसप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।

    अशक्तहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्नसक्ने भन्दै उहाँले चनाखो हुन निर्देशन दिनुभएको हो ।

    उहाँले गत स्थानीय तहको निर्वाचनमा आफैं मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

    उम्मेदवारको दबावमा कतिपय सक्षम मतदाताले पनि आफू अशक्त भएको बहाना बनाउने गरेको भन्दै त्यसो गर्नु गम्भीर कसुर ठहरिने उहाँले बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूणर् व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता गर्न पनि निर्देशन दिनुभएको छ । गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, बालबालिका बोकेका महिलाहरु र अपाङ्गता भएकाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

    उहाँले दृष्टिबिहीन र शारीरिक अशक्त भएका कुनैपनि कारणले मत संकेत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लिइ आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जानको लागि अनुमति दिनपनि आग्रह गर्नुभयो ।

    प्रमुख आयुक्त थपलियाले मतदान स्थलमा आवञ्छित क्रियाकलाप गरेर मतदाता प्रभावित गर्नेतर्फ पनि सचेत रहेको बताउनुभएको छ ।

    उहाँले यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्ने र गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन पनि आग्रह गर्नुभयो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयो ।


    बिहिवार, कार्तिक २४ २०७९०१:३०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij