काठमाडौं । आसन्न मंसिर ४ गतेको निर्वाचन आउन ८ दिन मात्रै बाँकी रहँदा दलहरुले चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । घरदैलोलाई तीब्रता दिएका दलहरुले अहिले आफ्नो कमजोर उपस्थिति रहेको ठाउँको आंकलन गरी चुनावीसभा गर्दै आइरहेका छन् । आज सत्तागठबन्धन दलहरुले चितवनमा चुनावीसभा गरे भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका तीन सभालाई सम्बोधन गरे । यसपालीको निर्वाचनमा स्वतन्त्र र नयाँ अनुहारको उम्मेदवारी बढेकोले दलहरुलाई पनि चुनौती थपेको छ । पटक–पटकका घोषणापत्रहरु कार्यान्वयनमा नआउँदा जनतामा वितृष्णा जागेको सहजै अनुमान गर्न सकिन्छ । यसवर्षका घोषणा र प्रतिवद्धता कार्यान्वयनमा नआए पाँचवर्षपछि भने यसले थप चुनौती दिनेछ । यसपटक चितवनमा सुरक्षित अनुभव नगरेर गोरखा पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनप्रतिको माया अघात रहेको बताउनुभयो । आजको चुनावीसभामा सम्बोधन गर्दै उहाँले गठबन्धन लामो समय टिक्ने पनि बताउनुभयो ।
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीले पटक–पटक संसद विघटन गरेकोले गठबन्धन निर्माण भएको बताउँदै चितवनबाटै विजयी सुरुवात हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसपालीको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मिचिएको सीमालाई फिर्ता ल्याउने आफ्नो मुख्य एजेण्डा बनाएको छ । सुदूरपश्चिमको एक सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको सीमालाई आफ्नो पहलमा नक्सामा समेटेको दाबी गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा त्यसको बारेमा बोल्नै नसकेको उहाँको आरोप थियो ।
चुनावी प्रचारमा जुटेका दलहरुको पुरानै शैली र आरोपप्रत्यारोपले विकासका एजेण्डा भने ओझेलमा परेका छन् । अबको मुलुकको राजनीति विकास र समृद्धि तर्फ लम्किन आवश्यक छ । जनताले पनि विकास गर्नसक्ने भिजन भएको उम्मेदवारलाई मतदान गर्न सक्नुपर्दछ ।