काठमाडौं ।आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले आफ्नो तयारी तीब्र बनाएको छ । सोही दिनमा गर्नुपर्ने कामबाहेक अन्य तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
यसपटकको निर्वाचनमा पनि आयोग विवादरहित भने बन्न सकिरहेको छैन । ससाना समस्यामा अल्झिँदा आयोगमाथि थुप्रै प्रश्न उठ्ने गरेका छन् ।
आचारसंहिता उल्लंघन गरेको भन्दै सीधै सञ्चारमाध्यमलाई स्पष्टिकरण सोध्ने देखि एफ रेडियोमा सूचना प्रसारण गर्दा न्यून रकम दिने, उम्मेदवारलाई स्पष्टिकरण सोध्ने र उसको उम्मेदवारी खारेजका निम्ति सर्वोच्चसम्म पुग्ने, निर्वाचनमा खटाइने निजामति कर्मचारी र शिक्षकहरुको वरीयता अनुसारको जिम्मेवारी नदिनेलगायतका थुप्रै कमजोरी आयोगबाट भएको गुनासा यत्रतत्र छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने आफूहरु विधि र पद्धतिमै रहेर काम गरिरहेको बताउनु हुन्छ । छोटो अवधिमा आयोगमाथि आएको दबाबलाई थेग्न नसकी कहीँकतै भएको कमजोरीलाई उहाँले सामान्य रुपमा लिनुभएको आशय बुझ्न सकिन्छ ।
निर्वाचन आयोगले छिटपुट आइरहने विवादका बीच आफ्नो कामलाई भने तीब्र गतिमा अगाडि बढाइरहेको छ । पछिल्लो समय देशैभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ भने आचारसंहिता उल्लंघनमा पनि आयोगको कडा निगरानी रहेको छ ।
मुलुकका विभिन्न निर्वाचन क्षेत्रहरुमा कर्मचारीहरु पठाउने कार्य पनि जारी छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न स्थानहरुमा तोडफोड, झैझगडा, कुटपिट लगायतका घटनाहरु पनि अगाडि आइरहेका छन् । यसलाई दृष्टिगत गरी आयोगले गृहमन्त्रालयलाई पुनः सचेत गराएको जनाएको छ ।
मतदान गर्न पाउने अधिकारलाई पूर्ण रुपमा सुरक्षित गर्न निर्वाचन आयोग, गृहमन्त्रालय, सरकारलगायत आम नागरिक समूह पनि सचेत हुन जरुरी छ । यस्ता निर्वाचनले देशको भाग्यरेखा कोर्ने भएकोले मतदातालाई आफ्नै विवेकमा मतदान गर्न दिने वातावरण मिलाउन आवश्यक हुन्छ ।