काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
आज नौ हजार दुई सय १८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार दुई सय ३६ पुगेको छ ।
त्यसैगरी, विगत २४ घन्टामा १७ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भइसकेका छन् ।
संक्रमणमुक्त हुने दर ६५ प्रतिशत रहेको गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या भने १६ हजार दुई सय ५९ छ ।
संक्रमितमध्ये होम आइसोलेसनमा सात हजार एक सय ९० जना र संस्थागत आइसोलेसनमा नौ हजार ६९ जना छन् ।