भीष्म लोध, बाँके । इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध ब्युरो नेपालगञ्जको संयुक्त टोलीले जमुनाहा नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज–३ की २८ वर्षिया सन्जनादेवी पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राति ८ बजे उक्त परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै गर्दा जमुनाहाबाट नियन्त्रणमा लिएको हो ।
लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय, जमुनाहाबाट सबैभन्दा बढी परिमाणको ब्राउन सुगर नियन्त्रणमा लिएको यहाँका इन्चार्जसमेत रहेका प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास खड्काले ५० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी पटहरमाथि आवश्यक अनुसन्धान सुरु गरेको बताउनुभयो ।