काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । शाहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नव निर्वाचित सांसदलाई बधाई दिनुभएको हो । यस्तै उहाँले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको पनि बताउनुभएको छ ।
उहाँले आज फेसबुकमा लेख्नुभएको छ,‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ ।
काठमाडौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन ,फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।
काठमाडौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ । तपाईंहरुसँग सहकार्य गरी काठमाडौँ बनाउन हामी आतुर छौँ ।’