काठमाडौं । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार र संसद्को स्वरूपबारे चर्चा हुन थालेको छ । साथै लोकतान्त्रिक गठवन्धन टुट्छ कि सँगै जान्छ भन्नवारे पनि सर्वत्र चासो छ । २०७४ को तुलनामा यस पटक प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको नतिजामा फेरबदल आएको छ । यसपटक संसद्मा नयाँ पार्टीहरुको उदय भएको छ । गठवन्धनसँगै रहने र टुट्नेवारे चर्चा भइरहेका वेला आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । निर्वाचनमा गठबन्धन गरेको अवस्थामा परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको विश्लेषण पनि हुन थालेको छ ।
नवनिर्वाचित सांसद् एवं नेपाली कांग्रेसका नेता शंकर भण्डारी जो प्रधानमन्त्री भएपनि आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्नुपर्ने बताउनुहुन्छ । गठबन्धन टुटाउनु देश र जनताप्रति धोका भएको भन्दै प्रचण्डजस्तो जिम्मेवार नेता केपी ओलीको पछि नलाग्ने भण्डारीको दाबी छ।
नेकपा माओवादी केन्द्रले अहिलेको मतपरिणाम बारे पार्टीभित्र औपचारिक समिक्षा नगरे पनि कहि कतै असन्तुष्टि भने जनाएको छ । सो पार्टीका नेता एवं राष्ट्रियसभा सांसद् नारायणप्रसाद दाहाल बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्दै नटुट्ने दाबी गर्नुहुन्छ ।
कांग्रेस इमानदार नहुने हो भने माओवादी केन्द्र आफ्नो निर्णय गर्न स्वतन्त्र भएको पनि नेता दाहालको तर्क छ । ओली र प्रचण्डबिचको पछिल्लो टेलिफोन संवादवारे टिप्पणी गर्दै उहाँले ओलीले बोलाउनासाथ प्रचण्ड बाईबाई गरेर नहिँड्ने पनि बताउनुभयो ।
गठबन्धन टुट्ने चर्चासँगै स्वतन्त्र र नयाँ दलका सांसदहरू पनि सरकारमा जाने वा तानातानमा पर्ने संकेत देखिएको छ । काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीमा नवनिर्वाचित सांसद् शिशिर खनाल आफुहरु तत्काल सरकारमा नजाने र सरकारमा जाने बिषय समिकरण र एजेन्डामा भर पर्ने बताउनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अहिले संसदमा राम्रो उपस्थिति देखाउने संकेत गरिरहेको छ । आफुहरु सरकारमा जानेबारे सोचि नसकेको र सो बिषय प्राथमिकतामा नपरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाई छ ।
सार्वजनिक भएका निर्वाचन नतिजाले कुनै पनि दलको र गठवन्धनको पनि बहुमत नपुग्ने भएपछि नयाँ सरकार कसले बनाउला ? सरकारको नेतृत्व कसले गर्ला र नयाँ पार्टी सरकारमा जाने नजानेबारे चासो र चर्चा हुन थालेको हो ।