Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बामदेव प्रकरणले नेकपामा फेरि कलह, स्थायी कमिटिमा चर्काचर्कीको सम्भावना

बामदेव प्रकरणले नेकपामा फेरि कलह, स्थायी कमिटिमा चर्काचर्कीको सम्भावना

  • मंगलवार, भाद्र २३ २०७७

  • 4.1K
    SHARES

  • बामदेव प्रकरणले नेकपामा फेरि कलह, स्थायी कमिटिमा चर्काचर्कीको सम्भावना

    काठमाडौँ –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने आफ्नै पार्टीको निर्णयविरुद्ध उभिएका छन्।

    प्रतिनिधिसभामा पराजित गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णयलाई जनताले निको नमानेको भन्दै यसमा पुनर्विचार गरिनुपर्ने उनीहरुको माग छ।

    नेकपाका स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णयबारे स्थायी कमिटि बैठकमा कुरा उठाइने बताउनुभयो । जनमतविरुद्ध जान नहुने कुरामा पार्टी सचेत हुनुपर्ने उहाँको भनाई छ।

    यसबारे बाहिर धेरै बोल्नुभन्दा पनि पार्टी बैठकमै कुरा उठाउने गजुरेलले बताउनुभयो। बाहिर धेरै बोल्दा झण्डै पार्टी फुटेको टिप्पणी गर्दै उहाँले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयबारे अब स्थायी कमिटिमै आफ्ना कुरा राखिने प्रतिक्रिया दिनुभयो।

    नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजान सरकारलाई आग्रह गर्ने निर्णय केही दिन अघि गरेको थियो । तर यो निर्णयले पार्टीलाई जनतामाँझ अलोकप्रिय बनाउने भन्दै सत्तारुढ दलकै नेताहरु विरोधमा उत्रिएका हुन्।

    नेकपाका सांसद विशाल भट्टराईले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयलाई आम रुपमा जनताले नरुचाएको दाबी गर्नुभयो। उहाँले कानुनी रुपमा गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न बाधा नभए पनि पार्टीकौ नैतिकताले त्यो नसुहाउने टिप्पणी गर्नुभयो।

    सांसद भट्टराईले पार्टीले निर्णय गरिसके पनि उक्त निर्णयलाई सच्याएर नैतिकता प्रदर्शन गर्न आग्रह गर्नुभयो। पार्टी र गौतम स्वमले पनि यो निर्णयमा पुनर्विचार गरे सबैभन्दा उत्तम हुने उहाँले बताउनुभयो।

    यसअघि नारायणकाजी श्रेष्ठ र अहिले बामदेव गौतम दुवै नेताले राष्ट्रियसभामा जाने रहर नगरेको भए हितकर हुने भट्टराईको भनाई छ।

    गोरखाबाट प्रनिनिधिसभाको चुनाव हारेका नारायणकाजी श्रेष्ठलाई नेकपाको निर्णय अनुसार सरकारले यसअघि नै राष्ट्रियसभा सदस्यमा नियुक्त गरेको थियो।

    त्यसलगत्तै अहिले बर्दियाबाट चुनाव हारेका गौतमलाई पनि राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि पार्टी भित्र र बाहिरबाट नेकपाको आलोचना चुलिएको छ। तर नेता बामदेव गौतमको सचिवालले भने त्यस्तो कुनै आलोचना नभएको जिकिर गरेको छ।

    गौतमका प्रेस सल्लाहकार विष्णुमणि सुवेदीले पार्टीको निर्णयमा कुनै आलोचना नभएको जिकिर गर्नुभयो।

    हुन त पार्टीको समिकरण मिलाउन यसअघि थुप्रै पटक राष्ट्रियसभामा आउन गरिएको प्रस्ताव बामदेवले नकार्नुभएको थियो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था भए मात्रै आफू मनोनित हुन तयार रहेको गौतमको अडान थियो।

    तर अहिले उपप्रधानसहित एक महत्वपूर्ण मन्त्रायलको जिम्मेबारी लिने गरी गौतम राष्ट्रियभासमा मनोनित हुन तयार भएको चर्चा चल्ने गरेको छ।

    यद्यपि प्रतिनिधिसभामा चुनाव हारेका व्यक्तिलाई मन्त्री बनाउन मिल्ने कि नमिल्ने भन्नेमा संविधानविदहरु नै विभाजित भनेपछि बामदेव प्रकरणले सजिलो निकास पाउने सम्भावना कमै देखिन्छ।

    राष्ट्रियसभामा चुनाव हारेका बामदेव नभई नहुने के त्यस्तो आइलाग्यो नेकपाले जनतालाई जवाफ दिनैपर्छ।

     


    मंगलवार, भाद्र २३ २०७७०७:१७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij