काठमाडौं।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच भेटवार्ता भएको छ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुबै नेताले शुभकामना साटासाट गर्नुभएको छ । आजको भेटमा संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गर्नुभएको छ।
प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा.राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सृजना गर्नेलगायतका एजेण्डा उठाउनु भएको जनमत पार्टीका नेता बिपि शाहले जानकारी दिनुभयो ।
जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनुभएको शाहले बताउनुभयो ।
दुबै नेताबीच गठबन्धनसँग सहकार्य गर्ने विषयमा पहिलो चरणको छलफल भएपनि कुनै ठोस निर्णयमा नपुगेकाले थप छलफल गर्ने सहमति भएको नेता शाहले जानकारी दिनुभयो ।