काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ मध्ये १६२ क्षेत्रको नतिजा आइसकेको छ । अहिले स्याङ्जा–२, बाजुरा र दोलखामा मतगणना जारी छ । जारी मतगणनाअनुसार ३ वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
स्याङ्जा–२ मा कांग्रेस उपसभापति धनराज गुरुङ एमाले सचिव पद्माकुमारी अर्यालभन्दा झन्डै २ हजार मतले अगाडि रहनुभएको छ। कांग्रेस उम्मेदवार गुरुङ १४ हजार ३ सय ६ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ ।
निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल १२ हजार १ सय ३५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ। त्यस्तै तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ९ सय ३३ मत ल्याउनुभएको छ।
त्यस्तै दोलखामा माओवादी उम्मेदवार गंगा कार्की अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३५ मत ल्याउँदा एमालेका बालकृष्ण सिवाकोटीले २ हजार ९ सय २८ मत ल्याउनुभएको छ ।
त्यस्तै बाजुरामा पनि कांग्रेसका सह महामन्त्री बद्रीप्रसाद पाण्डे एमाले नेता कर्ण थापाभन्दा अगाडि रहनुभएको छ। बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतदान अधिकृतले मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा हुनुहुन्छ । उहाँले ५ हजार ४१९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मत पाउनुभएको छ । प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगाडि हुनुहुन्छ ।