काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ दोलखा–१, स्याङजा–२ र बाजुराको नतिजा आउन बाँकी छ । समानुपातिकतर्फ लगभग डेढ लाख मतणना हुन बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभएको छ ।
जारी मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी गरी सातवटा दल राष्ट्रिय दल बन्ने पक्का भएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने हालसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । तर, ऊ थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुक्ने सम्भावना बढेको छ ।
राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ खसेको कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।
आयोगका अनुसार दिउँसो १२ः५० सम्ममा जम्मा १ करोड ३ लाख ८५ हजार मतगणना भएको छ । आयोगको वेभसाइटमा अपडेट भएको उक्त जम्मा मत सदर मत भएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो।
अब अहिले प्रत्यक्षतर्फ गणना भइरहेको क्षेत्रमा समानुपातिक मत पनि गणना भइरहेको छ ।
अब डेढ लाख मतगणना गर्दा १ करोड ५ लाख बढी मत हुन आउँछ । त्यसो भएको खण्डमा राष्ट्रिय पार्टी बन्नका लागि ३ लाख १५ हजारबढी मत चाहिन्छ । त्यसका लागि अब झण्डै १८ हजार मत चाहिन्छ । तर, जारी ट्रेन्ड हेर्दा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना कम छ ।