काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले आज अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत कटाएको औंपचारिक जानकारी गराउनुभएको हो ।
समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना भइसकेको छ । जस अनुसार एमालेले सबैभन्दा बढी २७ लाख ७३ हजार ९९९ मत पाएको छ । कांग्रेसले २६ लाख ४४ हजार २४१, माओवादी ११ लाख ६१ हजार २५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टी, नेपाल ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत पाएका प्रवक्ता वाग्लेले जनाउनुभयो ।
प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताउनुभयो ।
आयोगले ४ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ । दलहरुले पाएको मत संख्याअनुसार उनीहरुले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् ।
त्यसो गर्दा एक तिहाई महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराउनुभयो ।