काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गर्नुभएको छ ।
संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जाने शर्माको टिप्पणी छ ।
उहाँले कांग्रेसमा अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्ने बताउनुभयो । एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर राख्न शर्माले सुझाव दिनुभयो ।
झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।
शर्माले संसदीय दलको नेता अर्का महामन्त्री गगन थापालाई बनाउनुपर्ने पनि प्रस्ताव गर्नुभएको छ । उहाँले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत बताउनुभयो। ‘संसदीय दलको नेता गगनजीलाई बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव छ । यसका लागि सिनियर नेताहरूसँग पनि छलफलहरू भइरहेका छन् । गगनजी संसदीय दलको नेता हुनुभयो भने देशमा एउटा नयाँ तरंग आउँछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि मात्र राजनीतिमा परिवर्तन गर्न सकिन्छ ।’
तर अब बन्ने सरकार कांग्रेस नेतृत्वमै हुनुपर्ने उहाँको धारणा थियो । यस्तै, अब बन्ने गठबन्धन सरकार नै पाँच वर्षसम्म स्थिर रहनुपर्ने उहाँको भनाइ छ ।
शर्माले तत्काल बन्ने सरकारमा आफू भने सहभागी नहुने बताउनुभएको छ । उहाँले समय आएपछि सरकारमा जाने बाटो खुला भए पनि तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउने र उक्त सरकारलाई पाँच वर्षसम्म स्थिर हुने वातावरण बनाउनेतर्फ आफू लागिरहेको बताउनुभयो।