काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।
धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको हो । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उहाँको माग छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उहाँले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाउनुभएको छ ।
खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको थियो । एमालेका उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत पाउनुभएको थियो ।