काठमाडौं । रामेछापको उमाकुण्ड ७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भिर छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ । बोलेरोमा यात्रा गर्ने सबै ११ यात्रु नै घाइते भएका हुन्।
प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
४ जना घाइतेहरूलाई गाडी मार्फत् काठमाडौं ल्याइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।