काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल आक्रामक रुपमा प्रस्तुत हुनुभएको छ । बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्न नसकेको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाउनुभएको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाउनुभएको छ । ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपालले बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि प्रश्न उठाउनुभएको हो ।
उहाँले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आउनुभएको छ । नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्मम ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । जसमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत रहेका छन् ।
आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिनुभएको थियो । उहाँ अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ । आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि आज बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।
गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि स्थायी कमिटी पटक–पटक स्थगित हुँदै आएको थियो । साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेको थियो । त्यसले आधिकारिकता पाउन नसकेपछि अनिश्चितकालाका लागि स्थगित भएको बैठक आज बसेको हो ।
यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको संवाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुनः बस्ने वातावरण बनेको हो । गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदन र सचिवालयका सुझावलाई आधार मानेर अध्यक्षले बैठकका एजेण्डा तयार गरेका हुन् ।