Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेरबहादुर देउवा छैटौँ पटक संसदीय दलको नेता चयन, इत्तरपक्षबाट अनपेक्षित मत संस्थापन पक्षलाई (खासखबर)

शेरबहादुर देउवा छैटौँ पटक संसदीय दलको नेता चयन, इत्तरपक्षबाट अनपेक्षित मत संस्थापन पक्षलाई (खासखबर)

  • बुधवार, पौष ६ २०७९

  • 812
    SHARES

  • शेरबहादुर देउवा छैटौँ पटक संसदीय दलको नेता चयन, इत्तरपक्षबाट अनपेक्षित मत संस्थापन पक्षलाई (खासखबर)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गर्नुभएको हो । मतदानमा कुल ८९ मत खसेको थियो । त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेस संसदीय दलको निर्वाचन समितिले घोषणा गरेको थियो ।

    सभापति देउवा यो सँगै छैटौँ पटक पार्टीको संसदीय दलको नेता बन्नुभएको हो । यस अघि उहाँ विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै प्रवक्ता डा. प्रकाशशरण महतले सबैलाई मिलाएर लैजानुपर्ने यो अवस्थामा विवेकी सांसदहरुले उचित मूल्यांकन गरेको प्रतिक्रिया दिनुभयो ।

    यता, संसदीय दलको नेताका उम्मेदवार बन्नुभएका महामन्त्री गगन थापाले गणितीय हिसाबले आफू दलको नेता बन्नेमा शंका रहेको भएपनि सांसदहरुले आफ्नो स्वतन्त्र विवेकको मत प्रयोग गर्छन र आफूलाई मतदान गर्छन् भन्नेमा ढुक्क भएपनि त्यो हुन नसकेको बताउनुभयो । हालको मतले अहिले पनि पार्टीमा परिवर्तन, नेतृत्वमा परिवर्तन, जनचाहाना अनुसार अघि बढ्ने बेला नभएको दर्शाएको थापाको टिप्पणी छ ।

    पाँचवर्षे संसदीय कार्यकाल भर्खरै शुरु भएको बताउँदै थापाले आगामी दिनमा सांसदहरु प्रिवर्तनको पक्षमा उभिने र नयाँ नेतृत्व स्थापित हुनेमा आशा व्यक्त गर्नुभयो ।

    कांग्रेस नेता एवं विश्लेषक शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवाको सीमा साँघुरिँदै गएको बताउँदै प्राविधिक हिसाबले अंकगणित मिलेपनि यसले पार्टी निर्माणको गतिलाई समस्यातिर धकेल्ने तर्क गर्नुभयो ।

    कांग्रेस सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसयता देउवा नेतृत्वकै सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय तह, मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा देउवाले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ ।


    बुधवार, पौष ६ २०७९०८:२४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij