काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ बिहीबार(आज)देखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटनपछि राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै विस्तार भएको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको बताउनुभएको हो ।
मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने भण्डारीको सुझाव छ ।
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको पनि बताउनुभयो। उहाँले यस्ता प्रदर्शनीले उद्योगी, व्यवसायीबीच व्यवस्थापकीय अनुभव आदानप्रदान गर्न र महिला उद्यमीको संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले बुटवल र भैरहवा नेपालकै अग्रणी औद्योगिक केन्द्रका रुपमा अघि बढेको भन्दै प्रशंसा पनि गर्नुभयो । भण्डारीले प्रदर्शनी एवं महोत्सवहरूले नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगलाई उत्साह र उपभोक्तालाई सचेत बनाउन पनि सहयोग गरिरहेको भन्दै रुपन्देही उद्योग सघं र लुम्बिनी प्रदेश उद्योग परिसंघले आयोजना गरेको प्रदर्शनीले उद्योगी, उपभोक्ता, विज्ञहरू र सरकारी निकायबीच अन्तर्क्रियाको अवसर पनि सिर्जना गरेको बताउनुभयो।
संघका अध्यक्ष माधव पौडेलका अनुसार आजबाट सुरु भएको कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा उद्योग, खाद्यान्न, गार्मेन्ट, कृषि तथा सूचना प्रविधिसहितका ४ सय ५० बढी स्टल राखिएका छन् । प्रदर्शनी पुस १७ गतेसम्म चल्ने छ ।